विराटनगर । देशभर नेपाली सेना सहितका सुरक्षा निकाय परिचालन गरिएको पछिल्लो १२ घण्टाको अवधिमा विभिन्न विध्वंसात्मक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ।

मंगलबार राति १० बजेदेखि बुधबार बिहान १० बजेसम्म काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा लुटपाट, आगजनी र जनधनको क्षति पुर्याउने उद्देश्यले भएका अराजक गतिविधिमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ।
आगजनी नियन्त्रणका लागि ३ वटा बारुण यन्त्र प्रयोग गरिएको र काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न व्यक्तिहरुबाट रु. ३३ लाख ७० हजार नगद बरामद गरिएको सुरक्षा निकायले जनाएको छ।

त्यसैगरी, काठमाडौंका विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका ३१ नाल हतियारसहित म्यागजिन र गोलीगठ्ठा पनि बरामद गरिएको छ।
घटनामा संलग्न भएर नियन्त्रणका क्रममा २३ जना नेपाल प्रहरी घाइते भएका छन् भने ३ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरुको सैनिक अस्पतालमा उपचार भइरहेको बताइएको छ।
