विराटनगर । मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङलाई एक थान ल्याण्ड रोभर गाडी हस्तान्तरण गरेको छ । आइतबार आयोजित कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीले प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवमार्फत प्रशासन कार्यालयलाई एक थान ल्याण्ड रोभर जीप र प्रहरी उपरीक्षक कबिता कटवालमार्फत प्रहरी कार्यालयलाई एक थान मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण प्रशासन तथा प्रहरी कार्यालयका सवारी साधनसहित भौतिक पूर्वाधार क्षतिग्रस्त भएका थिए । त्यसयता कार्यालय सञ्चालनमा कठिनाइ हुँदै आएको थियो ।
सवारी साधन हस्तान्तरणपछि अध्यक्ष राठीले संघले सदैव सरकारी निकायहरूसँग सहकार्य गर्दै आएको र शान्ति–सुरक्षालाई प्राथमिकतामा राख्दै काम गर्ने बताउँदै, “यसले जिल्लामा प्रशासनिक र सुरक्षा कार्य सुचारु गर्न सहयोग पुग्नेछ,” भन्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले जिल्लाको शान्ति सुरक्षा र सुव्यवस्थापनलाई महत्वपूर्ण ठहर गर्दै दैनिक कार्य सम्पादनमा सहजता ल्याउनका लागि सवारी साधन उपलब्ध गराइएको बताए । उनले आगामी दिनहरूमा पनि प्रशासन, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरूसँग सहकार्यात्मक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
