विराटनगर । खडेरी पर्दा होस् चाहे अधिक वर्षा हुँदा सबैभन्दा बढी प्रभावित हुने भनेको किसानहरू नै हो । मान्छेको जीवन बचाउने अन्न उत्पादन गर्ने किसान वर्गलाई राज्यले समेत त्यति महत्व दिएको पाइँदैन ।
धान रोप्ने समयमा वर्षा हुँदैन तर धान उठाउने बेलामा आवश्यकता नै नभएको बेला पानी परेर धान डुब्छ । समयमा वर्षा नहुँदा र अधिक वर्षा हुँदा दुवै बेलाका पीडित भनेको किसान नै हुन् ।
मोन्था चक्रवातको कारण बिहीबार रातिदेखि भइरहेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन निकै अस्तव्यस्त बनेको छ । किसानले लगाएका धानबाली लडेर सोत्तर बनेन चुर्लुमै डुबेको छ । केही दिन वर्षा नरोकिने हो भने खेतमै धान उम्रिन्छ ।
बेलामा मल, बिउ, मजदुर, पानी नपाउने समस्या पुरानो होइन । तर जसोतसो गरेर किसानले रोपेको धान थन्याउने बेलामा यसरी वर्षा हुँदा किसानहरू पीडामा परेका छन् । धानमात्र होइन तरकारी बालीमा पनि ठूलो क्षति भएको छ ।
धानबालीमा पुगेको क्षतिका बारेमा सामाजिक सञ्जालमा सबै क्षेत्रका व्यक्तिहरूले सार्वजनिक गरिरहेका छन् । कोशी प्रदेशका मोरङ र सुनसरीलाई अन्नको भण्डारका रुपमा लिने गरिन्छ । अन्नको भण्डारका रुपमा रहेका यी तीनै जिल्लामा धानसहित कृषिबालीमा करोडौं मूल्य बराबरको क्षति भएको छ । कुन जिल्लामा कति क्षति पुग्यो भन्ने तथ्यांक आउन बाँकी छ ।

