२१ जेठ २०८३, बिहिबार

कटहरी–६ सितपुरस्थित लक्ष्मी आधारभूत विद्यालयमा सरस्वती मन्दिरको उद्घाटन

Logo
डुमरलाल मेहता शुक्रबार, कार्तिक २२, २०८२

विराटनगर । मोरङको कटहरी गाउँपालिका–६ सितपुरमा रहेको लक्ष्मी आधारभूत विद्यालयमा नवनिर्मित विद्याकी देवी सरस्वती मन्दिरको उद्घाटन तथा मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ।

विद्यालय परिसरमा आयोजित विशेष समारोहकाबीच कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले मन्दिरको उद्घाटन गर्दै मूर्तिको प्राणप्रतिष्ठा गर्नुभयो। विद्यालयको प्रवेशद्वार नजिकै निर्माण गरिएको सो मन्दिर विद्यालय, गाउँपालिका, वडा कार्यालय, अभिभावक तथा स्थानीयवासीहरूको संयुक्त सहयोगमा निर्माण गरिएको हो।

करीब १० लाखभन्दा बढी लागतमा सम्पन्न मन्दिर निर्माणका लागि गाउँपालिकाले ३ लाख, वडा कार्यालयले २ लाख, विद्यालयले २ लाख र स्थानीयवासीहरूले थप ३ लाखभन्दा बढी सहयोग जुटाएको कटहरी गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत तेजेन्द्र गौतमले जानकारी दिनुभयो।

अध्यक्ष चौधरीले विद्यालय परिसरमा सरस्वती मन्दिर स्थापना गर्नु परम्परागत संस्कारसँग जोडिएको सकारात्मक पहल भएको बताउनुभयो। उहाँले मन्दिरले विद्यार्थीहरूमा अनुशासन, नैतिकता र शिक्षा प्रतिको आस्था बढाउने विश्वास व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार देवका अनुसार लक्ष्मी आधारभूत विद्यालयमा हाल बालकक्षा देखि कक्षा ८ सम्म गरी दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। तीमध्ये अधिकांश विद्यार्थी दलित समुदायका रहेका छन्।

प्रधानाध्यापक शिवनन्दन मेहताले विद्यालयमा अध्ययनमैत्री वातावरण निर्माणका लागि थप भौतिक संरचना आवश्यक रहेको बताउँदै स्थानीय निकाय र समुदायसँग निरन्तर सहकार्य गरिने बताउनुभयो।

सन् १९९८ (साल २०५५) मा स्थापना भएको यस विद्यालयसँग ११ कट्ठा क्षेत्रफलमा फैलिएको परिसर रहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300