विराटनगर । दुहबी नगर आधारभूत अस्पतालमा प्रसूति गराउन आउने महिलाले अब २४ घण्टा निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन्। दुहबी नगरप्रमुख वेद नारायण गच्छादारले बिहीबार अस्पतालले आयोजना गरेको स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्तरक्रिया कार्यक्रममा उक्त सेवा सुरु गरिएको घोषणा गरेका हुन्।
नगरप्रमुख गच्छादारका अनुसार दुहबी नगरपालिकाका १०३ जना महिला स्वास्थ्य स्वयंसेविकाले आफ्ना वडामा रहेका गर्भवती महिलालाई सुरक्षित प्रसूति तथा अस्पतालमा उपलब्ध सेवाबारे जानकारी गराएको आधारमा प्रति प्रसूति १५० रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गरिनेछ। उनले प्रसूति सेवा सञ्चालनका लागि अस्पतालमा दक्ष जनशक्ति र आवश्यक उपकरण उपलब्ध रहेकाले गर्भवती महिलाहरूले ढुक्क भएर सेवा लिन सक्ने बताए ।

स्वास्थ्य बीमामा नजोडिएका गर्भवती महिलालाई गर्भावस्थामै बीमा गरी सुलभ तथा प्रभावकारी सेवा लिन आग्रह गर्दै नगरप्रमुख गच्छादारले भने, “स्वास्थ्य क्षेत्र जनताको जीवनसँग जोडिएको संवेदनशील विषय हो। आर्थिक चुनौती आए पनि स्वास्थ्य बजेटमा कटौती हुँदैन।”
उपमेयर मेनुका खतीवडाले पनि दुहबी नगरपालिका स्वास्थ्य बीमा अभिवृद्धिसँगै गरिब तथा विपन्न वर्गलाई लक्षित सेवाहरू सफल रूपमा उपलब्ध गराइरहेको बताइन्। उनका अनुसार अस्पताल मार्फत विभिन्न उपचार सेवाहरू निरन्तर विस्तार भइरहेको छ।
मेयर गच्छादारले २०७८ जेठ ६ गते दुहबी–८ मा रहेको पुरानो उद्योग भवन मर्मतगरी अस्पताल सञ्चालन थालेका थिए। त्यसपछि २०७८ मंसिर १९ गते २० करोड ३० लाख ४४ हजार ५३८ रुपैयाँ ७७ पैसा लागतमा नयाँ भवन निर्माणको ठेक्का सम्झौता भएको थियो। निर्माण कार्य २०८२ जेठ ३२ मा सम्पन्न भई गत साउन ४ गतेदेखि औपचारिक रूपमा सेवा दिइरहेको छ।
अस्पतालमा २४ घण्टा आकस्मिक सेवा, प्रयोगशाला, एक्स–रे तथा अल्ट्रासाउन्ड, मातृ–शिशु तथा परिवार नियोजन सेवा, पोषण, क्षयरोग, कुष्ठरोग सेवा, आँखा तथा कान सेवा, स्वास्थ्य बीमा सेवा, फार्मेसी तथा मिनी अपरेशन सेवा सञ्चालनमा छन्।
अस्पतालमा उपलब्ध Samsung HS40 मोडेलको अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन नेपालमै दुर्लभ प्रविधिमध्ये एक रहेको अस्पतालले जनाएको छ। नगरपालिकाले आगामी दिनमा थप स्वास्थ्य सेवा विस्तार गर्दै लैजाने योजना अघि सारेको छ।
