विराटनगर । भोजपुर र धनकुटा जिल्लाका विभिन्न स्थानका डाँडा–पाखामा प्राकृतिक रूपमा उम्रिएका तथा केही स्थानीय स्तरमा लगाइएका गाँजाका बोट तथा बिरुवाहरू प्रहरीले फडानी गरी नष्ट गरेका छन्।
मंसिर १२ गते शुक्रवार जिल्ला प्रहरी कार्यालय भोजपुर तथा इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ र अस्थायी प्रहरी चौकी दुम्मानबाट खटिएको प्रहरी टोलीले हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न स्थानमा रहेका करिब ७० रोपनी क्षेत्रफलभित्र उब्जिएको ७ हजार ४ सय ५० वटा गाँजाका बोट तथा बिरुवाहरू फडानी गरी नष्ट गरेको जानकारी दिएको छ।
त्यसैगरी, धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ तथा राजानरीबाट खटिएको प्रहरी टोलीले सहिदभूमि र चौबिसे गाउँपालिकाअन्तर्गतका डाँडा–पाखामा फैलिएको करिब ६।५ रोपनी क्षेत्रफलमा रहेका १ हजार १ सय ५० वटा गाँजाका बोट तथा बिरुवाहरू फडानी गरी नष्ट गरेको छ।
प्रहरीका अनुसार अवैध रूपमा उम्रिएका वा लगाइएका यस्ता लागू औषधजन्य बोटबिरुवाले स्थानीय क्षेत्रमा दुरुपयोगको जोखिम बढाउने भएकाले नियमित रूपमा अनुगमन तथा नियंत्रण कार्य भइरहेको जनाइएको छ।
