विराटनगर । १२ वर्षीया बालिकाको हत्यामा संलग्न लेटाङ–२ का पदम बहादुर अधिकारी पक्राउ परेको छ ।
घटना बुझ्दा मोरङको लेटाङ नगरपालिका–२ स्थित “बेलबारी चिसाङ साझेदारी बन” नजिक १२ वर्षीया बालिकाको विभत्स अवस्थामा शव फेला परेको थियोे ।
लेटाङ–२ फडानी बस्ने नबिन गौतमकी छोरी अंशु गौतम २०८२ असोज २१ गते घरबाट हराएकाे भन्दै परिवारले भोलिपल्ट २२ गते इलाका प्रहरी कार्यालय लेटाङमा हुलिया निवेदन दिएको थियो ।
परिवारको उजुरीपछि प्रारम्भिक खोजतलासकै क्रममा मंसिर ७ गते चिसाङ साझेदारी बन क्षेत्रमा कम्मरभन्दा तलको भाग र टाउको मात्र रहेको अवस्थामा बालिकाको शव भेटिएको थियो । कपडाको आधारमा आफन्तले शव पहिचान गरेका थिए ।
घटना अत्यन्त संवेदनशील भएकाले प्रहरीले Operation JAG गठन गरी गहिरो अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरूका बयान, पहिल्यै प्राप्त सूचनाहरू, प्राविधिक तथ्य–प्रमाण (CCTV फुटेज, फरेन्सिक सबूत) लगायतका आधारमा लेटाङ–२ कै पदम बहादुर अधिकारीमाथि शंका गहिरिँदै गएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार प्रतिवादी अधिकारीले घाँस काट्न जाऊँ भनी बालिकालाई फकाइ साइकलबाट करिब ४ किलोमिटर टाढा जंगलतर्फ लगेका थिए । त्यहाँ उनले बलात्कार प्रयासपछि घाँटी थिचेर र हँसियाले प्रहार गरी हत्या गरी फरार भएको खुलेको प्रहरीले जनाएको छ ।
लगातार खोजीका क्रममा मंसिर १९ गते आरोपी अधिकारीलाई उनको घर–वतनबाट पक्राउ गरिएको हो । नियन्त्रणमा लिएपछि उनले बालिकाको हत्या स्वीकार गरेको प्रहरीको जनाएको छ ।
