२१ जेठ २०८३, बिहिबार

दुहबी नगर आधारभुत अस्पताल उद्घाटन

Logo
डुमरलाल मेहता सोमबार, मंसिर ३०, २०८२

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाले निर्माण सम्पन्न गरेको नगर आधारभूत अस्पतालको उद्घाटन गरिएको छ। करिब १५ करोड रुपैयाँको लागतमा निर्माण भएको १५ शय्याको उक्त अस्पतालको शिलान्यास २०७८ साल माघ २ गते नगर प्रमुख वेदनारायण गच्छादारले गरेको थियो । आइतवार प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख गच्छादारले शिलालेख अनावरण तथा रिबन काटेर अस्पतालको उद्घाटन सम्पन्न भएको हो।

उद्घाटन समारोहको अध्यक्षता दुहबी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष खड्गनारायण उराउँले गर्नुभएको थियो। कार्यक्रममा उप–नगर प्रमुख मेनुका खतीवडा बुढीगंगा गाउँपालिका अध्यक्ष जित नारायण थापामगर, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, सागर प्रसाईं, जिल्ला प्रहरी सुनसरीका (डीएसपी) चन्द्रबहादुर खड्का लगायत विभिन्न वडाका वडा अध्यक्षहरू, संघ–संस्थाका प्रमुख प्रतिनिधिहरू, स्थानीय नागरिक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख श्री वेदनारायण गच्छादारज्यूले ठूलो चुनौती र संघर्षका बाबजुद नगर अस्पताल सञ्चालनमा ल्याउन सफल भएको उल्लेख गर्नुभयो। उहाँले निकट भविष्यमा यस अस्पताललाई मेडिकल कलेजसँग जोड्दै दुहबीका नागरिकलाई सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउने तथा दुहबीलाई मेडिकल हबको रूपमा विकास गर्ने दीर्घकालीन सपना रहेको बताउनुभयो। प्राइभेट–पब्लिक पार्टनरसिप मोडेलमार्फत विकास गर्ने प्रयास काठमाडौंमै असफल भए पनि दुहबी नगरपालिकामा आफूले यो मोडेल सफल बनाएरै छाड्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। “नेतृत्वले सपना देख्नुपर्छ, विकासका लागि हुटहुटी र छटपटी हुनुपर्छ, तब मात्र विकास सम्भव हुन्छ” भन्ने कुराको सजीव उदाहरण आफूले प्रस्तुत गरेको उहाँको भनाइ थियो।

दुहबीवासीको स्वास्थ्यप्रति सधैं संवेदनशील रहनुभएका नगर प्रमुख गच्छादारज्यूले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारात्मक कार्य गर्दै आउनुभएको छ। पैसाको अभावकै कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्देश्यका साथ उहाँले कोभिड–१९ महामारीका बेला दुहबी–८ स्थित एक बन्द अवस्थामा रहेको कारखानालाई विभिन्न दाताहरूको सहयोगमा अस्थायी आधारभूत अस्पतालका रूपमा सञ्चालन गराउनुभएको थियो।

उक्त अस्पतालमार्फत ‘नगर प्रमुख स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत विपन्न, दलित तथा सुकुम्बासी नागरिकहरूलाई नगरपालिकाले प्रतिव्यक्ति ३ हजार र सेवा ग्राहीले पाँच सय रुपैयाँ तिरेर स्वास्थ्य बीमासँग जोड्दै सेवा प्रवाह गरिएको थियो, जसले स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

दुहबी–११ मा करिब ३ बिघा ६ कट्ठा क्षेत्रफलमा फैलिएको सुविधा सम्पन्न अस्पताल भवनमा विशेषज्ञ सेवा, पोस्टमार्टम सेवा, क्यान्टिन, चिकित्सक आवास, मिनी अपरेशन सेवा, आँखा तथा कान उपचार, स्त्रीरोग, हाडजोर्नी, प्रसूति तथा डेलिभरी सेवा, महिलाका लागि निःशुल्क एम्बुलेन्स, आपत्कालीन (इमेर्जेन्सी) सेवा सञ्चालनमा रहेका छन् भने केही दिनभित्रै बालरोगसम्बन्धी सेवा पनि सुरु हुने जानकारी दिइएको छ।

करिब ६४ हजार जनसंख्या रहेको दुहबी नगरपालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा साना उपचारका लागि समेत विराटनगर धाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ। नयाँ भवनबाट सेवा सुरु भएपछि नगरबासीहरूको मुहारमा खुसी छाएको छ।

नगर प्रमुख गच्छादारज्यूले आफ्नो पहिलो कार्यकालदेखि नै स्वास्थ्य, शिक्षा, पूर्वाधार, सडक, खानेपानीसँगै आर्थिक आत्मनिर्भरता र स्वरोजगारका क्षेत्रमा समेत उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको छ। उहाँको दूरदृष्टि, कार्यदक्षता, दृढ संकल्प र अटल इच्छाशक्तिकै कारण दुहबी नगरमा चौतर्फी विकास भइरहेको छ। साप्ताहिक हाट, रंगशाला, कोल्ड स्टोर, फोहोर प्रशोधन केन्द्र, सपिङ कम्प्लेक्स, एग्रो प्रोसेसिङ सेन्टरलगायतका योजनाहरू निर्माणको अन्तिम चरणमा रहेका छन्।

त्यसैगरी नगरका १२ वटै वडामा स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर स्थापना, निःशुल्क आँखा शल्यक्रिया, अपाङ्ग आत्मनिर्भर कार्यक्रम, उद्यमशीलतामार्फत लघु उद्यमी विकास, सामूहिक कृषि, बंगुर पालन, तरकारी तथा च्याउ खेतीजस्ता मानवीय विकास, आत्मनिर्भरता र आर्थिक सशक्तीकरणका कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भइरहेका छन्। यिनै विकासशील र दूरदर्शी पहलका कारण नगर प्रमुख गच्छादार दुहबी नगर मात्र नभई समग्र सुनसरी जिल्लामै प्रशंसाका पात्र बन्न सफल हुनुभएको छ।

उद्घाटन समारोहका अवसरमा नगर अस्पताल स्थापना कालदेखि नै महत्वपूर्ण योगदान पुर्‍याउने कर्मचारीहरूलाई नगद ११ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300