२१ जेठ २०८३, बिहिबार

एनआईटी विराटनगरद्वारा प्रा.डा. निलाम्बर झा सम्मानित

Logo
सन्तोष मेहता शनिबार, पुष ०५, २०८२

बिराटनगर । विराटनगर–४ बरगाछीस्थित नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआईटी)ले सामुदायिक चिकित्साका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएका प्रा.डा. निलाम्बर झालाई सम्मान गरेको छ ।

कलेजद्वारा आयोजित विद्यार्थी स्वागत, सम्मान तथा बिदाइ कार्यक्रममा चिकित्सा शिक्षा र अनुसन्धान क्षेत्रमा लामो समयदेखि सक्रिय रहनुभएका प्रा.डा. झालाई विशेष सम्मान प्रदान गरिएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रा.डा. झाका स्वास्थ्यसम्बन्धी अनुसन्धानमूलक लेखहरू विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भइसकेका छन् । उहाँले सामुदायिक स्वास्थ्य शिक्षा र सेवामा पुर्‍याएको योगदानका कारण ‘नेपालमा कम्युनिटी मेडिसिनका पिता’ का रूपमा चिनिँदै आउनुभएको छ ।

कार्यक्रममा सिटिइभिटि कोशी प्रदेश निर्देशक मीना खरेल र एनआईटीका संस्थापक भगवान झाले प्रा.डा. झालाई दोसल्ला, फूलमाला र कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

सम्मान ग्रहण गर्दै प्रा.डा. झाले समयसँगै अध्यापन र अध्ययन दुवै पद्धतिमा परिवर्तन आएको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीहरूले शिक्षकको पाठ्यक्रममा मात्र सीमित नभई उपलब्ध प्रविधिको प्रयोग गर्दै ज्ञानलाई व्यवहारिक र व्यवसायिक बनाउनु आवश्यक रहेको धारणा राख्नुभयो । साथै, सिटिइभिटिको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

कार्यक्रममा बोल्दै एनआईटीका संस्थापक भगवान झाले प्राविधिक शिक्षाको आवश्यकता बढ्दै गएको बताउँदै यस क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

कलेजका प्रिन्सिपल जितेन्द्र झाले २०५२ सालमा स्थापना भएको एनआईटीले प्राविधिक शिक्षामा सिपमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो । हाल कलेजमा हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी तथा प्रि–डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङका कार्यक्रम सञ्चालनमा रहेका छन् ।

कार्यक्रमका अवसरमा तीन वर्षे कोर्स पूरा गरेका ६० जना विद्यार्थीलाई बिदाइ गरिएको थियो भने ११० जना नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो । साथै, विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक प्रकाशराज कार्की, औषधि व्यवस्था विभागका निर्देशक दीपेन्द्र खड्कालगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा सिटिइभिटि निर्देशक मीना खरेललाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300