विराटनगर । विराटनगरमा क्रियाशील सञ्चारकर्मीहरूले सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडालाई सम्मान गरेका छन् । प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, रानीमा कार्यरत खतिवडाले सीमा सुरक्षालाई मजबुत बनाउने, अवैध गतिविधि नियन्त्रण गर्ने तथा चोरी–पैठारी न्यूनीकरणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका संयोजक सत्यनारायण शर्माका अनुसार सशस्त्र प्रहरी बल नेपालको उद्देश्यअनुरूप सीमामा सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउने, विभिन्न विकृति–विसंगति नियन्त्रण गर्ने तथा आम नागरिकमा शान्ति–सुरक्षाको अनुभूति दिलाउन खतिवडाको भूमिका उल्लेखनीय रहेको छ । आफ्नो पदीय जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै जनविश्वास कायम गर्न सफल भएको भन्दै सञ्चारकर्मीहरूले उहाँको प्रशंसा गरेका थिए ।
कार्यक्रममा साझा सरोकार डट कमका सम्पादक रोशन पोखरेलले समाजमा शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाकर्मीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सेवा भावनाका साथ निरन्तर काम गर्न शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै, समकालीन पथका सम्पादक तथा प्रकाशक मधुसुदन ज्ञवालीले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा खतिवडाले आफ्नो कार्यक्षेत्रमा देखाएको सक्रियता प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यलाई सबैले आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो ।
सम्मान ग्रहणपछि बोल्दै सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडाले संगठनले दिएको जिम्मेवारी अक्षरशः पालना गर्दै काम गरिरहेको बताउनुभयो । सञ्चारकर्मीहरूबाट प्राप्त सम्मानले थप जिम्मेवारीबोध र हौसला मिलेको भन्दै उहाँले आभार व्यक्त गर्नुभयो ।
