विराटनगर । कानुनी व्यवस्था उल्लङ्घन गर्दै नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाइरहेका विराटनगरस्थित दुई क्यासिनोमा जिल्ला प्रहरी कार्यालय मोरङले विशेष ‘मिडनाइट अपरेसन’ सञ्चालन गरेको छ।
आइतबार मध्यरातमा गरिएको उक्त विशेष छापाका क्रममा दुई वटा क्यासिनोका सञ्चालक सहित २० जना नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालको कमाण्डमा खटिएको प्रहरी टोलीले विराटनगरस्थित बिग होटलभित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो तथा रत्ना होटलभित्र सञ्चालित गोल्डेन क्यासिनोमा एकैसाथ छापा मारेको थियो।
प्रहरीका अनुसार राति करिब ११ बजे गरिएको उक्त कारबाहीका क्रममा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतमलाई पक्राउ गरिएको छ। साथै, रत्ना होटलस्थित क्यासिनोबाट १४ जना र बिग होटलस्थित क्यासिनोबाट ६ जना गरी जम्मा २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपालको प्रचलित कानुन अनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। तर, यी क्यासिनोहरूले कानुनलाई बेवास्ता गर्दै नेपाली नागरिकलाई निर्बाध रूपमा प्रवेश गराई लाखौँ रुपैयाँको जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उक्त कारबाही अघि बढाएको हो।
घटनाबारे जानकारी दिँदै प्रहरी उपरीक्षक कटुवालले “छापाका क्रममा क्यासिनोभित्र नेपाली नागरिकहरू निर्बाध रूपमा जुवा खेलिरहेको अवस्थामा फेला परेका छौँ। कानुन विपरीत कार्य गर्ने क्यासिनो व्यवस्थापन तथा त्यहाँ जुवा खेल्न जाने सबैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको छ।”
पक्राउ परेका सबै व्यक्तिहरूलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। प्रहरीले आजै उनीहरू विरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको जनाएको छ।
