काठमाडौँ । नेपालको राजनीतिमा नयाँ तरंग ल्याउने घटनाक्रमका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बृहत् राजनीतिक एकताको सहमति भएको छ।
‘नयाँ शक्ति’ का रूपमा उदाएका यी दुई प्रभावशाली नेताले अब एउटै झण्डा र एउटै चुनाव चिन्ह ‘घण्टी’ मुनि गोलबद्ध भएर अघि बढ्ने सहमति गरेका हुन्। यो एकताले दशकौँदेखि नेपाली राजनीतिमा जकडिएर बसेका परम्परागत दलहरूलाई कडा चुनौती दिने र आम नागरिकमा नयाँ आशा जगाउने अपेक्षा गरिएको छ।
रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्री
सहमतिको सबैभन्दा चासोको विषय नेतृत्व बाँडफाँड रहेको छ। सहमति अनुसार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिको जिम्मेवारीमा रहनेछन्। यस्तै, बालेन्द्र शाह आगामी प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा पार्टीको तर्फबाट ‘भावी प्रधानमन्त्री’ का उम्मेदवार बन्ने सहमति भएको छ।
१० वर्षभित्र नेपाललाई ‘मध्यम-आय’ राष्ट्र बनाउने लक्ष्य
दुई नेताबीच भएको ७ बुँदे सहमतिमा सत्ता सहकार्य मात्र नभई देशको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणको स्पष्ट मार्गचित्र पनि समेटिएको छ। सहमतिका मुख्य बुँदाहरू यस प्रकार छन्–
भ्रष्टाचारविरुद्ध साझा मोर्चा: युवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध थालेको आन्दोलनलाई संस्थागत गर्दै शहीद तथा घाइते परिवारका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता।
आर्थिक मार्गचित्र: आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक ‘मध्यम-आय’ भएको राष्ट्र बनाउने उद्देश्यसहित गहिरा नीतिगत र संरचनात्मक सुधार गर्ने।
पहिचान र चिन्ह: पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ यथावत् रहने, झण्डा साविककै रहने र चुनाव चिन्ह ‘घण्टी’ नै प्रयोग हुने।
दक्षता र योग्यता: पार्टी संरचनामा विज्ञ, युवा अभियन्ता तथा सक्षम व्यक्तिहरूलाई योग्यता र सार्वजनिक छविको आधारमा जिम्मेवारी प्रदान गर्ने।
सहमतिको सातौँ बुँदामा अन्य परिवर्तनकारी, लोकतान्त्रिक र सुसंस्कृत राजनीतिक शक्तिहरूलाई पनि ‘घण्टी’ चिन्हमा गोलबद्ध हुन खुला आह्वान गरिएको छ।
आम निर्वाचन सम्पन्न भएपछि यी सहमतिहरूलाई निर्वाचन आयोगमा औपचारिक रूपमा अद्यावधिक गर्ने विषयमा पनि दुवै पक्षबीच समझदारी भएको जनाइएको छ।

