सुनसरी । सुनसरीमा शीतलहरको प्रभाव बढ्दै गएपछि अत्यधिक चिसोले जनजीवनसँगै विद्यालयको पठनपाठन प्रभावित भएको छ । चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने जोखिम देखिएपछि जिल्लाका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् ।
स्थानीय तहका निर्णयअनुसार पुस १६ गतेदेखि १८ गतेसम्म जिल्लाभरका विद्यालय बन्द रहनेछन् । इटहरी उपमहानगरपालिकाले भने उक्त बिदा वार्षिक सञ्चित (मिन पचास) बिदाबाट कट्टा हुने जनाएको छ । उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहले अत्यधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
यसैगरी इनरुवा नगरपालिका, दुहवी नगरपालिका, कोशी गाउँपालिका, हरिनगरा गाउँपालिका, रामधुनी नगरपालिका लगायत सुनसरीका अन्य स्थानीय तहहरूले पनि सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
स्थानीय तहहरूले अभिभावकलाई बालबालिकालाई घरमै न्यानो वातावरणमा राख्न र चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
