विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन गरिएको ‘विराट ट्रेड एक्स्पो–२०२५’ शनिबार सम्पन्न भएको छ। पुस ९ गतेदेखि सुरु भएको ११ दिने एक्स्पोमा करिब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।

एक्स्पो संयोजक अमित साराडाका अनुसार मेलामा करिब एक लाख ५० हजार दर्शकले अवलोकन गरेका थिए । एक्स्पोमा उद्योग, व्यापार, अटोमोबाइल, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा खाद्य सामग्रीसम्बन्धी २३० भन्दा बढी स्टल राखिएका थिए ।
संघका अध्यक्ष अनुपम राठीले अपेक्षाभन्दा राम्रो सहभागिता र कारोबार भएको भन्दै एक्स्पो सफल भएको प्रतिक्रिया दिए ।
एक्स्पो अवधिभर ओपेरा हाउस, जलपरि तथा हरेक साँझ राष्ट्रिय र स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिले दर्शकलाई आकर्षित गरेको थियो । शनिबार साँझ स्वप्न एण्ड सुमनको प्रस्तुति विशेष आकर्षणको रूपमा रहेको थियो ।
जेन्जी आन्दोलनपछि आर्थिक गतिविधिमा परेको असरका बीच आयोजना गरिएको यस एक्स्पोले विराटनगरका उद्योगी तथा व्यापारीलाई केही राहत मिलेको व्यवसायीहरूको भनाइ छ ।
