काठमाडौँ । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग शाखाले निर्वाचन सुरक्षाका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) माग गरेको छ।
जारी सूचनाअनुसार इच्छुक नेपाली नागरिकले यही पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म दर्खास्त दिन सक्नेछन्। सार्वजनिक बिदाका दिनहरूमा पनि दर्खास्त संकलन गरिने जनाइएको छ।
आवेदन काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रहरी परिसर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयमार्फत दिन सकिने व्यवस्था गरिएको छ।
सूचनामा उल्लेख भएअनुसार निर्वाचन प्रहरी छनोट प्रक्रियामा पूर्व सुरक्षाकर्मी, पूर्व वन रक्षक तथा पछिल्लो पटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती तथा स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्राथमिकता प्रदान गरिनेछ ।
यसैगरी, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा कार्य गरी सन्तोषजनक कार्य सम्पादन गरेका व्यक्ति तथा विदेशी राष्ट्रका सुरक्षा निकायमा सेवा गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई समेत प्राथमिकतामा राखिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

