विराटनगर । मैथिली सांस्कृतिक संगीत क्षेत्रमा नयाँ विवाह गीत ‘आयल शुभ घरी’ सार्वजनिक गरिएको छ। विवाह संस्कारलाई केन्द्रमा राखेर तयार गरिएको यो गीत हाल बजारमा गुन्जिरहेको छ र श्रोता–दर्शकको ध्यान आकर्षित गर्न सफल भइरहेको छ।
परम्परागत मैथिली विवाह संस्कृतिको भाव, संस्कार र उल्लासलाई समेटेर तयार गरिएको गीतको रचना प्रेम नारायण झाले गर्नुभएको हो। गीतमा बिद्या मिश्राको संगीत संयोजन रहेको छ भने सुमधुर स्वर कविता झाले दिनुभएको छ। गीतका प्रोड्युसर पनि प्रेम नारायण झा नै हुनुहुन्छ ।
विवाहका शुभ अवसरमा गाइने परम्परागत मैथिली बोल र आधुनिक संगीत संयोजनको सुन्दर मिश्रण रहेको यस गीतले विवाह समारोह, सांस्कृतिक कार्यक्रम तथा पारिवारिक उत्सवमा विशेष स्थान पाउने अपेक्षा गरिएको छ।
कलाकार र स्रष्टाहरूले मैथिली भाषा, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनमा गीतले योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। ‘आयल शुभ घरी’ ले मैथिली विवाह गीतको परम्परालाई अझ सशक्त बनाउने सांगीतिक प्रयासका रूपमा लिइएको छ।
