२१ जेठ २०८३, बिहिबार

मेयर गच्छदार भन्छन्– “तालिम दिएर मात्र छाड्दिनँ, उद्यमी बनाउने जिम्मा लिन्छु”

Logo
आजको अपडेट मंगलबार, माघ २१, २०८२

विराटनगर । दुहबी नगरपालिकाको आफ्नै लगानीमा सञ्चालन गरिएको एकमहिने निःशुल्क बारिस्टा (कफी बनाउने) तालिम आज औपचारिक रूपमा सम्पन्न भएको छ। युवामाझ पछिल्लो समय आकर्षण बन्दै गएको उक्त तालिममा दुहबी नगरपालिकाका ४० जना युवायुवती सहभागी थिए।

दुहबी नगरपालिकाको आयोजना तथा रोजगार तथा लघु उद्यम विकास शाखाको सहकार्यमा गत पौष १३ गतेदेखि सञ्चालन भएको तालिमको समापन तथा प्रमाणपत्र वितरण समारोहमा नगर प्रमुख वेद नारायण गच्छदार प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा उपप्रमुख मेनुका खतीवडाको समेत उपस्थिति रहेको थियो।

प्रमाणपत्र वितरणपछि बोल्दै नगर प्रमुख गच्छदारले मुलुकको हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने तथा वैदेशिक रोजगारीमा समेत सम्मानजनक तलब–सुविधा पाउन सक्ने उद्देश्यले नगरपालिकाले बारिस्टा तालिम सञ्चालन गरेको बताए। उनले सीप आर्जन गर्नु मात्र पर्याप्त नभई त्यसलाई व्यवहारमा उतारी व्यावसायिक जीवनयापन गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्दै सहभागीहरूलाई सिकेको सीप जीवनमा प्रयोग गर्न आग्रह गरे।
“एक महिनाको अवधिमा तपाईंहरूले कफीका विभिन्न २९ प्रकारका आइटम बनाउन सिक्नुभयो। यो प्रारम्भिक सिकाइ हो,” उनले भने, “केही दिनभित्रै थप एड्भान्स तालिम सञ्चालन गरी अझ दक्ष बनाउने मात्र होइन, आवश्यक उपकरण, बीउपुँजी, बजारीकरण र व्यवसायिक योजना समेत उपलब्ध गराएर युवालाई आर्थिक मेरुदण्ड बनाउने मेरो प्रतिबद्धता छ।”
सीपयुक्त व्यक्ति देश–विदेश जहाँ गए पनि रोजगारीका अवसर पाउने उल्लेख गर्दै मेयर गच्छदारले वर्तमान अवस्थामा सीपको महत्व झनै बढेको बताए। “दुहबीमा अहिलेसम्म सयौं युवायुवतीले विभिन्न सीप सिकेर स्वरोजगार र आत्मनिर्भर बनेको देख्दा म गौरवान्वित छु,” उनले भने, “आज सिकेको सीप भोलि विश्वका जुनसुकै कुनामा गए पनि काम लाग्छ। सीप भएकाले आत्मसम्मान बढ्छ र काम सानो–ठूलो हुँदैन।”
सहभागीहरूलाई हौसला प्रदान गर्दै उनले तालिममा खर्च भएको रकम नगरवासीले तिरेको करबाट संकलित भएको उल्लेख गरे। “यो मेरो व्यक्तिगत पैसा होइन, तपाईंहरूको करको रकम हो। म केवल प्रतिनिधि मात्र हुँ,” उनले भने, “यसलाई आफ्नै लगानी ठानेर आर्थिक सुधार र समाज परिवर्तनको अभियान सुरु गर्नुस्, मेरो सतप्रतिशत साथ रहनेछ।”
प्रशिक्षार्थीहरूको तर्फबाट आस्था गुरुङ, राजन बास्तोला, नेहा अग्रहरी र अइत चौधरीले युवाहरूको चाहना र समयको मागअनुसारको सीप प्रदान गर्दै थप सहयोग गर्ने मेयरको प्रतिबद्धताले आफूहरूलाई अत्यन्त उत्साहित बनाएको बताउँदै प्रशंसा गरेका थिए।
कार्यक्रममा उपप्रमुख मेनुका खतीवडाले सहभागी सबैलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिन्। प्रशिक्षक मुना घिमिरेले कफीको दानाबाट लिएर कपमा तयार पारेर ग्राहकसमक्ष प्रस्तुत गर्ने सम्पूर्ण प्रक्रिया सिकाइएको र प्रशिक्षार्थीहरूले अत्यन्तै लगनशीलताका साथ तालिम लिएको बताइन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300