विराटनगर । विश्व क्यान्सर दिवसको अवसरमा नोबेल क्यान्सर अस्पतालले न्युरो कार्डियो एण्ड मल्टि स्पेशालिटी अस्पताल प्रा. लि.को सहकार्यमा तेरापन्थ महिला मण्डलमा आबद्ध महिलाहरूका लागि निःशुल्क प्याप स्मियर जाँच शिविर आयोजना गरेको छ।
शिविरका क्रममा नोबेल क्यान्सर अस्पतालका क्यान्सर विशेषज्ञ चिकित्सकहरूले क्यान्सरसम्बन्धी जनचेतनामूलक मन्तव्य प्रस्तुत गर्दै क्यान्सरको समयमै पहिचान, रोकथाम तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी गराएका थिए।
कार्यक्रममा सहभागी महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर, त्यसका प्रारम्भिक लक्षण, जोखिम कारक तथा उपलब्ध उपचारका उपायहरूबारे समेत विस्तृत जानकारी दिइएको थियो।
चिकित्सकहरूले नियमित स्वास्थ्य जाँच र प्रारम्भिक अवस्थामै रोग पहिचान भए क्यान्सर उपचार सम्भव हुने बताएका थिए।
आयोजकका अनुसार यस्ता निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रमहरूले महिलाहरूमा स्वास्थ्यप्रति जागरूकता बढाउनका साथै क्यान्सरको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।


