विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा बिहीबार राति करिब १ बजेको समयमा विद्युत् सर्ट सर्किटका कारण आगलागी हुँदा दुई जनाको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।
आगलागीबाट लाखौं रुपैयाँ बराबरको धनसम्पत्तिको क्षति भएको छ।
स्थानीय रहमान अन्सारीको घरमा विद्युत् सर्ट भई आगलागी सुरु भएको जनाइएको छ। आगो तीव्र रूपमा फैलिँदा छिमेकी इस्राफिल अन्सारीको घरसमेत जलेर क्षतिग्रस्त भएको छ।
आगलागीमा परेर रहमान अन्सारीकी सासू आमा जसिरा खातुन घाइते भएकी छन्। उनको उपचार भइरहेको जनाइएको छ। साथै आगलागीका क्रममा एक गाई जलेर मृत्यु भएको छ।
प्रारम्भिक अनुमानअनुसार रहमान अन्सारीको घरमा करिब ६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ भने इस्राफिल अन्सारीको घरमा ३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको जनाएको छ।
रातिको समयमा आगलागी भएकोले स्थानीयवासीले तत्काल उद्धार र आगो नियन्त्रणमा कठिनाइ भएको बताएका छन्। देवानगञ्ज र कोशी गाउँपालिकाका दमकल आगो नियन्त्रणमा लिन सफल भएको थियो । घटनाबारे थप विवरण संकलन भइरहेको छ।
