लुम्बिनी । रूपन्देही जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न र आचारसंहिता कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आज सूचना जारी गरी सम्पूर्ण दल एवं प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई आचारसंहिता विपरीतका गतिविधि नगर्न नगराउन अनुरोध गरेको छ ।
सूचनामा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा निर्वाचन आचारसंहिता, २०८२ जारी भई लागू भइसकेको अवस्था विभिन्न दल एवं प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरूबाट निर्वाचन आचारसंहिता विपरीतका विभिन्न गतिविधिहरू भइरहेको गुनासो प्राप्त हुन आएकाले निर्वाचन आचारसंहिता २०८२, विपरीतका गतिविधि नगर्न नगराउन ध्यानाकर्षण गराइएको छ ।
सूचनामा आगामी फागुन ४ गतेदेखि हुने विभिन्न कार्यक्रममा ९जुलुस, आमसभा, कोणसभा, भेला जस्ता कार्यक्रम० निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।
सूचनामा राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि कार्यक्रम गर्नुअघि स्थानीय प्रशासन र प्रहरीलाई कार्यक्रमको मिति, समय, मार्ग र स्थानका सम्बन्धमा जानकारी गराउनुहुन साथै स्थानीय प्रशासनको पूर्व स्वीकृति लिएर मात्र त्यस्ता खालका कार्यक्रम गर्नु गराउनुहुन अनुरोध गरिएको छ ।
