२१ जेठ २०८३, बिहिबार

राजकुमार यादव द्वारा ३२ बुँदे प्रतिबद्धता सार्वजनिक, मोरङ–५ लाई नमुना क्षेत्र बनाउने घोषणा

Logo
सन्तोष मेहता मंगलबार, फाल्गुण ०५, २०८२

विराटनगर, ५ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा) का मोरङ क्षेत्र नं. ५ का उम्मेदवार राजकुमार यादव ले ३२ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

विराटनगर–१४ स्थित रामजानकी मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत खुला प्रचार अभियानको औपचारिक सुरुवात गर्दै उहाँले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पूर्वाधार र पर्यटनलाई केन्द्रमा राखेर प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

उम्मेदवार यादवले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने, प्राविधिक तथा सीपमूलक शिक्षाबाट युवालाई दक्ष बनाउने तथा क्षेत्रका २४ वटै वडामा प्रभावकारी स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि सार्नुभएको छ । बन्द उद्योग पुनः सञ्चालन र नयाँ उद्योग स्थापना, सहुलियत ऋणमार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने पनि उहाँको प्रतिबद्धतामा समेटिएको छ ।

कृषि क्षेत्रमा बाँझो जमिन उत्पादनमा ल्याउने, मल–बिउ तथा सिँचाइको सहज उपलब्धता सुनिश्चित गर्ने, आधुनिक प्रविधि र यान्त्रीकरण विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ । सडक कालोपत्रे, पुल निर्माण, ढल व्यवस्थापन, सुरक्षित खानेपानी र विद्युत् विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ ।

पर्यटन प्रवर्द्धनअन्तर्गत विराट राजाको दरबार संरक्षण तथा सौन्दर्यकरण, रंगेलीस्थित सन्सारीमाई मन्दिर स्तरोन्नति, पार्क तथा ताल–पोखरीको विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुकुम्बासीलाई अधिकारसहित आवास व्यवस्था तथा क्षेत्र नं. ५ लाई नमुना विकास क्षेत्र बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

दोस्रो संविधानसभा निर्वाचन २०७०, प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४, २०७९ र २०८२ गरी चौथो पटक प्रतिस्पर्धामा उत्रिएका यादवले यसपटक जित आफ्नो पक्षमा आउने विश्वास व्यक्त गर्नुभएको छ । अघिल्ला तीन निर्वाचनमा झिनो मतान्तरले पराजित भएको उल्लेख गर्दै यसपटक गठबन्धन नभए पनि परिणाम सकारात्मक हुने उहाँको दाबी छ ।

यस क्षेत्रबाट पटक–पटक निर्वाचित प्रतिनिधिले अपेक्षित विकास गर्न नसकेको आरोप लगाउँदै यादवले आफू भने निर्वाचनमा हार–जीतभन्दा माथि उठेर स्थानीयका सुख–दुःखमा सधैँ साथमा रहेको बताउनुभयो ।

उम्मेदवारी दर्तापछि घरदैलो र भेटघाट कार्यक्रम सञ्चालन गरिए पनि निर्वाचन आयोगले तोकेको खुला प्रचार अभियान भने आजदेखि औपचारिक रूपमा सुरु गरिएको उहाँको भनाइ छ ।

मोरङ क्षेत्र नं. ५ मा यादवसहित फुलकुमार लालबानी (नेपाली कांग्रेस), मनोज अग्रवाल (नेपाल कम्युनिस्ट पार्टी एमाले), शिवकुमार मण्डल (नेपाल कम्युनिस्ट पार्टी), योगेन्द्र मण्डल (राष्ट्रिय उर्जाशिल पार्टी) र आशा झा (राष्ट्रिय स्वतन्त्र पार्टी) लगायतका उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300