विराटनगर । प्रजातन्त्र दिवसको अवसरमा जिल्ला अस्पताल सुनसरी, इनरुवाका अध्यक्ष राजन मेहताले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्दै दिवस मनाएका छन्।
अध्यक्ष मेहताले प्रजातन्त्र दिवस केवल औपचारिक कार्यक्रममा सीमित नराखी सेवाग्राहीसँग प्रत्यक्ष रूपमा जोडिने उद्देश्यले बिरामीहरूलाई फलफूल वितरण गरिएको बताए। उनले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै अस्पतालले मानवीय संवेदना र सेवाभावलाई सधैं प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
फलफूल वितरण कार्यक्रममा जिल्ला अस्पताल सुनसरी का चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी बिरामी तथा आफन्तहरूले अस्पताल प्रशासनको यस पहलप्रति धन्यवाद व्यक्त गरेका छन्।
उक्त कार्यक्रमले इनरुवा मा प्रजातन्त्र दिवसलाई सामाजिक उत्तरदायित्व र सेवामूलक कार्यमार्फत अर्थपूर्ण रूपमा मनाउने सन्देश दिएको सहभागीहरूको भनाइ छ।


