२१ जेठ २०८३, बिहिबार

राससको यात्रा पत्रकारिताको आधारस्तम्भ होः उपराष्ट्रपति यादव

Logo
आजको अपडेट बिहिबार, फाल्गुण ०७, २०८२

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय समाचार समिति ९रासस० को यात्रा समाचार सम्प्रेषणको इतिहास मात्र नभई नेपालको आधुनिक पत्रकारिताको आधारस्तम्भ भएको बताउनुभएको छ ।

राससको ६५औं वार्षिकोत्सवको अवसरमा आज राससमा आयोजित विशेष समारोहमा उहाँले विगत ६५ वर्षमा यो संस्थाले सत्य, निष्पक्षता र तटस्थताको सिद्धान्तलाई आत्मसात गर्दै आमनागरिकलाई निरन्तर सूचित गर्दै आएको उल्लेख गर्नुभयो । “राजनीतिक र आर्थिक जीवनको विभिन्न पक्षहरुको प्रकटीकरणमा जोड दिँदै सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिता क्षेत्रको दायित्व भएको र यसमा राससको भूमिका अझ बढी महत्वपूर्ण छ,” उहाँले भन्नुभयो, “आग्रह र पूर्वाग्रहबाट नभई वर्तमान परिवेशमा रुपान्तरित सोचका साथ अघि बढ्दै संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समानता र सुशासनको पक्षपोषणमा यो संस्था खरो उत्रिन सक्नु पर्दछ ।”

उपराष्ट्रपति यादवले लोकतन्त्रको प्रारम्भबाटै मिडियाले जनतालाई जागरुकता प्रदान गर्दै आएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रतालाई जीवन्त बनाइन राख्न सञ्चार माध्यमहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । “अझ बढी राससले निष्पक्ष रुपमा सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक घटनाहरुको विश्लेषण गर्न सक्दछ । सरकारी स्वामित्वमा रहेकाले यस संस्थाले सरकारी नीतिहरुको विषयमा एउटा समझदारी विकसित गर्दै राष्ट्रको विकासमा तीव्रता प्रदान गर्न सक्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

सूचना प्रविधिको विकासले पत्रकारितामा संख्यात्मक फड्को मारिरहेको वर्तमान अवस्थामा गुणस्तरीय पत्रकारिता कायम राख्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले उक्त चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राससले व्यावसायिक आचरणलाई परिस्कृत, परिमार्जित गर्दै अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।

यस संस्थाले नेपाल भाषा, अवधि, मैथिली भाषासहित विभिन्न मातृभाषामा सामग्री उत्पादन सुरु गरेर समावेशिता र विविधताको सम्मान गरेकामा प्रशंसा गर्नुभयो । “यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन र नागरिक अपनत्व बढाउन महत्वपूर्ण योगदान पु¥याएको छ”, उहाँले भन्नुभयो ।

उपराष्ट्रपति यादवले निराशा, कुन्ठा र नकारात्मकताले गाँजिएको समाजमा सकारात्मकता पक्षपोषणको मियो बन्ने जिम्मेवारी पनि राससकै काँधमा रहेको उल्लेख गर्नुभयो ।

राजनीतिक असंलग्नता, खोजी पत्रकारिता र नागरिक जवाफदेहिता आत्मसात गर्दै यस संस्थाले देश विकासमा दत्तचित्त भइ अगाडि बढ्न सबैलाई प्रेरित गर्न सक्ने विषयवस्तुमा जोड दिन सक्नुपर्नेमा जोड दिनुभयो । राससले मुलुकको उन्नति, प्रगति र समृद्धिको यात्रामा आफ्ना सामग्रीमार्फत् पत्रकारितामा अग्रणी भूमिका निर्वाह गर्न सकोस् भनी उहाँले शुभकामना दिनुभयो ।

उपराष्ट्रपति यादवले भन्नुभयो, “राससले मनाउँदै गरेको यो वार्षिकोत्सव अतीतलाई प्रतिबिम्बित गर्ने र भविष्यको रुपरेखा कोर्ने अवसर एवं संस्थाको सफलता र प्रगतिको समिक्षा गर्ने महत्वपूर्ण मौका हो । यस अवसरमा यस संस्थाले आफ्ना सकारात्मक पक्षलाई अंगाल्दै विगतका कमी कमजोरीबाट पाठ सिक्दै अघि बढ्नुपर्छ ।”

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300