विराटनगर । सिटिजन्स बैंक इन्टरनेशनलको विराटनगर–४ स्थित कञ्चनबारी शाखामा करिब ५ करोड रुपैयाँ हिनामिना भएको तथ्य फेला परेको छ । बैंकका कर्मचारीहरूकै मिलेमतोमा ४ करोड ९१ लाख रुपैयाँ अनियमितता भएको पाइएपछि ५ जना कर्मचारीलाई छानबिनको दायरामा ल्याइएको हो ।
बैंकले गरेको आन्तरिक लेखापरीक्षण (अडिट) का क्रममा ठूलो परिमाणमा रकम हिनामिना भएको देखिएपछि बैंक प्रशासनले संलग्न कर्मचारीहरूलाई निलम्बन गरी कानुनी कारबाहीका लागि प्रहरीमा उजुरी दिएको छ । हिनामिना भएको रकम असुलउपर गर्न र दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिइएको बैंकले जनाएको छ ।
यसरी हुन्थ्यो घोटाला
बैंक स्रोतका अनुसार कर्मचारीहरूले निक्षेपकर्ताले (मुद्दती निक्षेप) फिक्स डिपोजिटमा राखेको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल खडा गरी रकम निकाल्ने गरेको पाइएको छ । करिब दुई महिनाअघि नै आन्तरिक छानबिनका क्रममा यो बदमासी सतहमा आएको थियो ।
बैंकले हिनामिनामा संलग्न अन्य कर्मचारीको नाम गोप्य राखे पनि मुख्य आरोपीका रूपमा कञ्चनबारी शाखामै कार्यरत विराटनगर निवासी रोजी कणेलको नाम सार्वजनिक भएको छ । उनीसहित पाँचै जना कर्मचारीलाई बैंकले निलम्बन गरिसकेको छ र थप अनुसन्धानका लागि उनीहरूको विवरण प्रहरीलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङकाएसपी कवित कट्वालले बैंकबाट हिनामिनासम्बन्धी निवेदन प्राप्त भएको र यसबारे सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए । ‘हामीकहाँ बैंकको निवेदन परेको छ, अनुसन्धानबाट थप तथ्यहरू खुल्दै जानेछन्,’ उनले भने ।
यता सिटिजन्स बैंकका गुनासो व्यवस्थापन अधिकारी रोशन मानन्धरले बैंकको रकम हिनामिना भएको पुष्टि गर्दै दोषीमाथि कडा कारबाही र रकम असुलीका लागि कानुनी प्रक्रिया अघि बढाइएको बताए । उनले भने, ‘बैंकले आन्तरिक कैफियत भेटिएपछि प्रहरीमा लिखित जाहेरी दिएको हो, बाँकी कुरा छानबिनपछि स्पष्ट हुनेछ ।’
