२१ जेठ २०८३, बिहिबार

पहिचानको महत्व बुझाउन परम्परागत वेषभूषामा सांसद्

Logo
आजको अपडेट बिहिबार, चैत्र १२, २०८२

काडमाडाँै। आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्खौली थारु वेषभूषामा सजिएकी सांसद गीता चौधरीले संसद्मा आफ्नै थारु मातृभाषामा सपथ लिनुभयो । उहाँले सपथ लिन आउँदा सानी छोरीलाई परम्परागत वेषभूषामा सजाएर ल्याउनुभयो ।

“मेरो समुदायका लागि आज गौरवको दिन हो”, सांसद चौधरीले प्रतिनिधिसभामा सपथ लिएपछि प्रतिक्रिया दिँदै भन्नुभयो, “सङ्घीयताको मर्मअनुसार मौलिक पहिचान लिएर थारु वेषभूषामा आएकी हुँ, आमा र देश मेरा लागि उस्ता उस्तै हो ।” उहाँले आफूले लगाएको पहिरन आमाले सिलाइ दिएको बताउनुभयो ।

संसद् देशका जनताको प्रतिविम्ब झल्किने साझा फूलबारी जस्तै भएकाले पहिचान खुलाएर आउनु सान्दर्भिक लागेको सांसद चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले छोरीलाई परम्परागत लुगा लगाएर ल्याएकी छु । जुन आउने पुस्तालाई संस्कृति हस्तान्तरण गराउनु जरुरी छ ।”

शिरमा लगाएको पुर्खौली गहना ‘मङ्गौरी’, घाटीमा लगाउनेमाला ‘टौक’लगायत चाँदीले बनेका गहना देखाउँदै सांसद चौधरीले यी सबै गरगहना पुस्तौनी रहेको बताउनुभयो । सङ्घीयताको मर्म र भावना अनुरुप प्रतिनिधिसभामा समावेशिताको अर्थ बुझाउन सांसद चौधरीले जस्तै परम्परागत वेषभूषामा उपस्थिति हुनुभएको थियो ।

परम्परागत पहिरनमा सबैको ध्यान तान्नुभएका सांसदमध्ये सांसद सुधन गुरुङ एक हुनुहन्थ्यो । गोर्खाका गुरुङले टोपीको शिरमा खुकुरीको आकृति झल्काउँदै गुरुङ समुदायको पोसाकमा संसद्मा पुग्नुभयो । सधैँ जस्तै, कोटपाइन्टमा देखिने गुरुङ परम्परागत भेषमा सपथ खानुभएको थियो । पहिरनसँगै मुहारमा उत्साह र जोश झल्किएको थियो । आमसञ्चारलाई प्रतिक्रिया दिने क्रममा उहाँले भन्नुभयो, “जनताको भावना मर्न दिने छैनौँ ।”

नेपाली कम्युनिष्ट पार्टीबाट सांसद हुनुभएका दाङका सांसद भीमकुमारी बुढामगरले समावेशीको सन्देश दिन पुर्खौली वेषभूषामा सपथ ग्रहण गर्न आएको बताउनुभयो । मगर समुदाय सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध समुदाय रहेको सुनाउँदै समाजमा समुदायको पहिचान स्थापित गर्न पहिरनले महत्वपूर्ण सन्देश झल्किने धारणा राख्नुभयो ।

“सांस्कृतिक महत्व कहिल्यै भुल्नुहुँदैन”, सांसद बुढामगरले भन्नुभयो, “यही लगाएर हुर्किए यही लगाएर संसद्मा आएँ ।”

रास्वपाका सांसद महोत्तरीका प्रमोदकुमार महतोले श्रीराम लेखिएको गम्झा, शिरमा रातो रुमाल र कुर्था सुरुवाल लगाउनुभएको थियो । उहाँका अनुसार तराई क्षेत्रको आभाव गराउने आधार पहिरन भएको बताउँदै उहाँले संसद्मा तराईको अस्थित्व महसुस गराउन लगाएको बताउनुभयो । “पहिरनले अपनत्व महसुस गराउछ भने राष्ट्रिय भाव बलियो बनाउछ”, सांसद महतोले भन्नुभयो, “म सांसद नहुँदा मौलिक पहिरन नै लगाउछु । आज संसद्मा उपस्थिति हुँदा नलगाउने कुरै भएन ।” संसद्मा उपस्थिति अरु सांसदहरुले समुदायको भाव झल्किने पहिरनमा उत्साहका साथ देखा पर्नुभएको थियो ।

ट्रान्सजेण्डरको प्रतिनिधित्व गर्दै रास्वपाबाट सांसद भन्नुभएकी भूमिका श्रेष्ठ आफ्नो नेवार समुदायको संस्कृति झल्किने हाकुपटासी सारीमा देखिनुभयो । उहाँले त्यसै अनुसारको नेवार गरगहना लगाउनुभएको थियो । संसद्मा एउटा सांसदले समुदायदेखि राष्ट्रको अस्थित्व सम्बोधन गर्नुपर्ने हुँदा परम्परागत पहिरनमा सजिएको बताउनुभयो । “समुदायको सम्मानसँगै, जनताको सेवा गर्नुपर्छ”, सांसद श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300