२१ जेठ २०८३, बिहिबार

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ स् खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

Logo
आजको अपडेट सोमबार, चैत्र २३, २०८२

खोटाङ, २३ चैत । ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र पुरुषतर्फ ओखलढुङ्गाका विनोद थापामगरले जित्नुभएको छ । महिलारपुरुष ६० किलोमिटर खुला अल्ट्रा रेस प्रतियोगितामा निर्मलाले आठ घण्टा २० मिनेट तथा विनोद छ घण्टा ५० मिनेटमा दूरी पार गर्दै उपाधि जित्नुभएको हो ।

महिलातर्फ रोल्पाकी आश्मा विश्वकर्मा नौ घण्टा २१ मिनेटमा दोस्रो र सोलुखुम्बुकी आङफुर्वा शेर्पा १० घण्टा ५६ मिनेटमा दूरी पार गर्दै तेस्रो हुनुभएको छ । पुरुषतर्फ सोलुखुम्बुका अर्जुन कुलुङ छ घण्टा ५६ मिनेटसहित दोस्रो र सोही जिल्लाका मिलन कुलुङ सात घण्टा छ मिनेटमा दूरी पार गर्दै तेस्रो हुनुभएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुरु भएको मुन्दुम ट्रेल अल्ट्रा रेस प्रतियोगिता आमचोक गाउँपालिकाको बयाङ–थामडाँडा हुँदै रामप्रसाद राई गाउँपालिकाको पामाखाङ–भञ्ज्याङ, कपासे, पाँचधारे र खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङसम्म निर्धारण गरिएको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेता धावकहरूले क्रमशः नगद रु ८० हजार, रु ६० हजार र रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, ४५ किलोमिटर खुला पुरुषतर्फ काठमाडौँका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बू दोस्रो र भोजपुरका उमेश राई तेस्रो हुनुभएको छ । महिलातर्फ पाँचथरकी पुष्पा लिम्बू प्रथम, जुम्लाकी रोशनी बुढा दोस्रो र भोजपुरकी रुष्मा राई तेस्रो हुनुभएको छ ।

भेट्रान पुरुषतर्फ धरानका यमनाथ लिम्बू प्रथम, धरानकै विजयकृष्ण राई दोस्रो र सुनसरीका रेशम लिम्बू तेस्रो हुनुभएको छ भने महिलातर्फ भोजपुरकी जमुना राई प्रथम र सोही स्थानकी बिनिता राई दोस्रो हुनुभएको छ । प्रतियोगिताका विजेताहरूलाई कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

मन्त्री पराजुलीले तावाभञ्ज्याङ क्षेत्र पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताउनुहुँदै यसको समग्र विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । “मुन्दुम ट्रेलको प्रस्थान विन्दु यही क्षेत्रमा भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने निश्चित छ । साकेला गाउँपालिकाले अघि सारेको भिजनअनुसारका योजना कार्यान्वयन गर्न सके यो क्षेत्र मात्र होइन, समग्र देशको आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्छ,” उहाँले भन्नुभयो, “पहिलो पटक आयोजना गरिएको प्रतियोगिताले तावाभञ्ज्याङ क्षेत्रको पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थपेको छ । पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार गम्भीर छ ।”

नेपालका लागि स्विस सरकारका राजदूत डा डेनेली मेउली, कोशी प्रदेशसभाअन्तर्गत आर्थिक विकास समिति सभापति विनोद वान्तवा, भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेमगर, आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राई, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राई, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतलगायतको उपस्थिति रहेको थियो । पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको मुन्दुम ट्रेलको प्रस्थान विन्दु खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा आयोजित प्रथम मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ भव्य रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन् ।

साकेला गाउँपालिका अध्यक्ष राईले नेपाल सरकारले १०० गन्तव्य सूचीमा समावेश गरेको मुन्दुम ट्रेलको सुरुआती विन्दु तावाभञ्ज्याङको अपेक्षित विकास हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । “तावाभञ्ज्याङ क्षेत्रलाई पर्यटकीय हब बनाउने उद्देश्यले गाउँपालिकाले तावाताल निर्माण, धार्मिक बगैँचा तथा १३ जातजातिको सांस्कृतिक गाउँ स्थापना गर्ने विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिसकेको छ । तर, पटक–पटक केन्द्र र प्रदेश सरकारसँग माग गर्दा पनि यो क्षेत्र अझै ओझेलमा परेको छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ”, उहाँले भन्नुभयो, “संस्कृति र पर्यटन कहिल्यै समाप्त नहुने सम्पदा भएकाले धार्मिक तथा सांस्कृतिक पर्यटनमार्फत आर्थिक समृद्धिको ठूलो सम्भावना हुन्छ । आगामी दिनमा यसतर्फ विशेष ध्यान दिन आग्रह गर्दछु ।”

भोजपुरका आमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको संयुक्त आयोजना तथा खोटाङको साकेला गाउँपालिकाको व्यवस्थापनमा चैत २२ गते आइतबार सम्पन्न प्रतियोगिताले मुन्दुम ट्रेललाई अन्तरराष्ट्रियस्तरमा परिचित गराएको आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईले बताउनुभयो । कार्यक्रमले तावाभञ्ज्याङ क्षेत्रलाई साहसिक तथा धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300