२१ जेठ २०८३, बिहिबार

सुन्तला र अलैँचीखेतीमा रमाउँदै केसी

Logo
आजको अपडेट बुधबार, बैशाख ०२, २०८३

गलकोट (बागलुङ), १ वैशाख । बागलुङ नगरपालिका–५ मालिकाका कमलबहादुर केसी उमेरले ६८ वर्ष पुग्नुभयो । भारतमा नोकरीपश्चात् गाउँ फर्कनुभएका केसी कृषिमा तल्लीन हुनुहुन्छ । विसं २०५७ मै सुन्तलाको व्यावसायिक खेती गर्नुभएको केसी भारतमा २४ वर्ष सेक्युरिटी गार्डको जागिर खाएर नेपाल फर्कनुभएको हो ।

पाल्पाबाट सुन्तलाका ५०० सुन्तलाका बिरुवा १५ रोपनी जग्गामा लगाउनुभएका केसीले गाउँलेका कारण सुन्तलाका बिरुवा उखेलेर फालेको सुनाउनुभयो । “सुन्तलाका यति धेरै बिरुवा के गर्ने, खेतिपाती छोडेर फलफूलले मात्रै पेट भरिन्न भनेर घरपरिवार र गाउँलेले गाली गरेपछि १५ रोपनी जग्गामा लगाएको सुन्तलाखेती २०६० सालमा उखेलेर फालेको थिए”, केसीले भन्नुभयो, “२२ वर्षपछि पुन धानबारीको खेती मासेर सुन्तला लगाएको छु, दुईवटा पोखरीमा ग्रासकाप र सिल्भर जातको माछा पालेको छु भने ४५ रोपनी जग्गामा अलैँचीखेती विस्तार गरेको छु ।”

पहिला सुन्तला लगाउँदा उत्पादनलाई बजारीकरणको चिन्ता थियो । विसं २०५७ मा सुन्तला लगाउँदा धान फल्ने खेत मासेको भन्दै गाली खाएको स्मरण गर्दै केसीले अहिले गाउँकै अगुवा किसान भएको बताउनुहुन्छ । भारतमा लामो समय काम गरेको सुनाउँदै भारतमा माछा खाने लतका कारण मालिकामा दुई वटा पोखरीमा माछापालन गर्दै आएको केसीले सुनाउनुभयो ।

“अहिले १४ रोपनी जग्गामा २४५ सुन्तलाका बिरुवा लगाएको छु, दुई वटा पोखरीमा माछा पाल्दै आएको छु, ४५ रोपनी जग्गा भाडामा लिएर अलैँचीखेती थालेकै पाँच वर्ष भयो”, केसीले भन्नुभयो, “गत वर्ष तीन लाख अलँैची र दुई लाख सुन्तलाबाट आम्दानी भएको थियो, अहिले लोकल कुखुरा, माछापालन, केरालगायत थप कृषिका कामलाई बढवा दिएको हुँ ।”

वडास्तरीय कृषि समितिका संयोजक भएर मालिकाका वडाभरका ४२ किसानलाई प्लाष्टिक टनेल, मिनिटेलर हलो, सिँचाइ पाइप, सुन्तलाका बिरुवा अनुदानलगायत काममा सहायता गरेको केसीको भनाइ छ । केसी पूर्ववडा सदस्य हुनुहुन्छ ।

बम्बईको महाराष्ट्रमा सुरक्षा गार्डमा काम गरेको सुनाउँदै २०७० सालदेखि निरन्तर माछापालन गर्दै आएको केसीले सुनाउनुभयो । सामूहिक रूपमा अलैँचीखेती गर्दै आउनुभएको केसीले १७ हजार मासिक भाडा तिरेर ४५ रोपनी जग्गामा अलैँची उत्पादन गर्दै आएको बताउनुभयो ।

“कृषिमा अथाहा सम्भावना छ, अहिले लोकल कुखुराको फार्म तयार गरेको छु, सुन्तला र अलैँचीखेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी गर्ने लक्ष्यका साथ फार्म विस्तार गरेका छौँ”, उहाँले भन्नुभयो, “मालिका वडा कार्यालयले कृषकलाई अनुदानमा सुन्तलाका बिरुवा, माछापालनमा सहयोग गरेको छ ।”

विसं २०७४ मा मालिकाको वडासदस्यमा निर्वाचित केसीले जनप्रतिनिधिपछि पुनः कृषिमा फर्केको बताउनुभयो । पोखराबाट माछाका भुरा लिएर आएको बाताउँदै उहाँले नगरपालिकाको सहयोगमा माछाका भुरा अनुदानमा लिएको बताउनुभयो । वार्षिक १०० केजी माछा बिक्री गरेको केसीको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300