विराटनगर, ७ वैशाख । धान उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यसहित दुहबी नगरपालिकाले चैते धान प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। २० बिघा क्षेत्रफलमा विस्तार गरिएको उक्त कार्यक्रमअन्तर्गत नगरप्रमुख बेद गच्छादारले ८ लाख रुपैयाँ बराबरका कृषि सामग्री, मल तथा विषादी वितरण गरेका छन्।
दुहबी–१ र ७ वडाका ३५ जना कृषकलाई लक्षित गर्दै कृष्ण कृषि फार्म प्रास्टोकीमा आयोजित कार्यक्रममा ५० प्रतिशत अनुदानमा ६ थान मिनी टिलर, ४ थान मोटर सेट, २५ थान त्रिपाल, २५ थान स्प्रेयर, २५ थान समर सेट, २५ थान कोदालो, ६ सय केजी धानको बीउ, ६ सय केजी जिंक, ३ सय बोरा भर्मी कम्पोस्ट तथा विभिन्न विषादी वितरण गरिएको हो।
कार्यक्रममा कृषि शाखा प्रमुख अजय गौतम, कृषिफार्मका अध्यक्ष हिरालाल माझी लगायत कृषक समूहको उपस्थिति रहेको थियो।
सामग्री हस्तान्तरणपछि बोल्दै नगरप्रमुख गच्छादारले नेपालमा आवश्यक करिब ६० हजार टन धानमध्ये हाल ५७ हजार टन मात्रै उत्पादन हुने भएकाले खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न चैते धान प्रवर्धन अपरिहार्य रहेको बताए। उनले कृषकलाई समेट्दै चैते धानप्रति आकर्षण बढाउन नगरपालिका सक्रिय रूपमा लागेको उल्लेख गरे।
कृषिमा आधारित जनसंख्या बढी रहेको दुहबी नगरपालिकालाई कृषिकै माध्यमबाट रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनाउन सकिने विश्वास व्यक्त गर्दै उनले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने र आगामी दिनमा पनि कृषकको आवश्यकता अनुसार नगरपालिका अघि बढ्ने प्रतिबद्धता जनाए।
नगरपालिकाले कृषि विकास शाखामार्फत सिँचाइ उपकरण तथा बीउबिजन अनुदानमा उपलब्ध गराउँदै हिउँदमा बाँझो रहने खेतमा सिँचाइ व्यवस्थापन गरी धान खेतीतर्फ कृषकलाई प्रोत्साहन गरेको जनाएको छ।
कृषि शाखा प्रमुख गौतमका अनुसार बाली विकास तथा जैविक विविधता केन्द्रको धानबाली प्रवर्धन कार्यक्रमअन्तर्गत चैते धानको क्षेत्रफल विस्तार गरी उत्पादन वृद्धि गर्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिएको हो।

