२१ जेठ २०८३, बिहिबार

बुढीगंगाको आगलागी पीडितलाई राहत वितरण, ११ परिवारका लागि घर निर्माण पनि हुँदै

Logo
डुमरलाल मेहता सोमबार, बैशाख २८, २०८३

मोरङ, २८ वैशाख । मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित दलित बस्तीमा आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । चैत ४ गते भएको भीषण आगलागीबाट घरबारविहीन बनेका पीडित परिवारलाई आइतबार खाद्यान्न, स्वास्थ्य तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरिएको हो ।

बुढीगंगा गाउँपालिका परिसरमा आयोजित “Emergency Relief Material Distribution Program for Fire Victims” कार्यक्रममा HEARD Nepal को सहकार्य तथा Latter-Day Saint Charities (LDS Charities) को सहयोगमा राहत सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
गत चैत ४ गते बुढीगंगा–३ को दलित बस्तीमा अचानक आगलागी हुँदा बस्तीका घर पूर्णरुपमा जलेर नष्ट भएका थिए । आगलागीका कारण धेरै परिवारको उठीबास लागेको थियो भने उनीहरू बस्ने बाससमेतविहीन बनेका थिए । आगलागीपछि बुढीगंगा गाउँपालिकाले तत्काल प्रभावित परिवारलाई स्थानीय विद्यालयमा अस्थायी बसोबासको व्यवस्था मिलाएको थियो ।
आइतबार वितरण गरिएको राहत सामग्रीमा प्रति परिवार २ बोरा चामल, १० किलो दाल, ५ किलो खाने तेल, ५ किलो नुन, टेबुल पंखा, २ वटा झुल, २ वटा खानेपानी ट्यांकी, २ वटा त्रिपाल, २ वटा डासना, २ वटा सिरानी, २ वटा बेडसिट, ब्ल्याङ्केट, ४ वटा सारी सेट, पेन्ट तथा टी–सर्ट, ५ वटा नुहाउने साबुन, ५ वटा कपडा धुने साबुन, ४ वटा तौलिया तथा नेलकट्टर लगायतका सामग्री रहेका छन् ।
त्यसैगरी विद्यालय अध्ययनरत १४ जना विद्यार्थीलाई झोला, कापी, कलम लगायतका शैक्षिक सामग्रीसमेत वितरण गरिएको HEARD Nepal ले जनाएको छ । राहत सामग्री पाएपछि पीडित परिवारले खुशी व्यक्त गर्दै विपद्को समयमा आफूहरूलाई सहयोग गर्ने संस्थाप्रति आभार प्रकट गरेका छन् ।

कार्यक्रममा बोल्दै बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगरले विपद्को समयमा सहयोग गर्ने संस्थाहरूले पीडित परिवारको जीवनमा आशा र मुस्कान ल्याएको बताउनुभयो । उहाँले गरिब तथा विपन्न समुदायलाई सहयोग गर्न LDS Charities र HEARD Nepal ले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

अध्यक्ष थापा मगरले “हामीले खोजिरहेको कुरा भनेकै यी गरिब परिवारको अनुहारमा मुस्कान ल्याउने थियो । आज संस्थाहरूले त्यही मुस्कान दिने काम गरेका छन्,” भन्नुभयो । अमेरिकाबाट आएरसमेत पीडित परिवारलाई सहयोग गरेकोमा उहाँले संस्थाका प्रतिनिधिहरूप्रति विशेष आभार व्यक्त गर्नुभयो ।

यसैबीच आगलागी पीडित परिवारका लागि स्थायी आवास निर्माण कार्यसमेत अगाडि बढाइएको छ । HEARD Nepal का कार्यक्रम संयोजक ज्ञानु गौतमका अनुसार Latter-Day Saint Charities को आर्थिक सहयोग र HEARD Nepal को सहकार्यमा ११ परिवारका लागि घर निर्माण कार्यक्रम सञ्चालन भइरहेको छ ।
उहाँका अनुसार निर्माणाधीन घरहरू चाँडै सम्पन्न गरी पीडित परिवारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । विपद्पछि घरबारविहीन बनेका परिवारलाई पुनः सुरक्षित आवासमा फर्काउने उद्देश्यले घर निर्माण कार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300