०५ आषाढ २०८३, शुक्रबार

अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका

Logo
आजको अपडेट शुक्रबार, आषाढ ०५, २०८३

ढोरपाटन (बागलुङ), ५ असार ।  बागलुङको तमानखोला गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी सहारा दिएको छ । आमाबुबा गुमाएर बेसहारा बनेका बालबालिकलाई निःशुल्क खान, बस्न र शिक्षाको चार वर्षदेखि सुनिश्चित गर्दै आएको छ ।

गाउँपालिकाले वडा नं ३ तमान गाउँपालिमा दुईवटा घर भाडामा लिएर ‘तमानखोला बालगृह’नै सञ्चालन गरी बालबालिकाको स्याहारसुसारसहित पठनपाठन गराउँदै आएको छ । विसं २०७९ देखि सुरु भएको बालगृहमा पालिकाभरका बेसहारा बालबालिकाले आवासीय सेवा लिँदै आएका हुन् ।

गाउँपालिकाले सुरुमा रु १० लाख विनियोजन गरी बालगृह सञ्चालन गरेको थियो । बालगृहमा बस्ने बालबालिकालाई नजिकैको धनगौ ज्योति माध्यमिक विद्यालयमा कक्षा १० सम्म पढाउँदै आएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो ।

एसइई उत्तीर्णपछि उनीहरूले चाहेअनुसार कक्षा ११ र १२ पढाउने उहाँले विश्वास दिलाउनुभयो । अहिले बालगृहमा बस्ने बालबालिका कक्षा ३ देखि कक्षा १० सम्म अध्ययन गर्दै आएको अध्यक्ष बुढामगर बताउनुहुन्छ ।

अध्यक्ष बुढामगरले भन्नुभयो, “कोही पनि बालबालिका बेसहारा बन्न नपरोस् भन्ने हामीले बालगृह सञ्चालन गरेका हौँ, अहिलेसम्म धेरै बालबालिकाले यहाँ आश्रय लिएका छन्, स्थानीय सरकारले बालबालिकाको मौलिक अधिकारको संरक्षण र राज्यको अनुभूति दिलाउनु पर्छ ।” अहिले बालगृहमा १६ जना बालबालिका आश्रित छन् । जिल्लास्थित विभिन्न सङ्घसंस्थाले ‘तमानखोला बालगृह’ खाद्यन्न, तत्ताकपडा, शैक्षिक सामग्री सहयोग गर्दै आएका छन् ।

बालगृहका अध्यक्ष तथा तमानखोला गाउँपालिका–३ का अध्यक्ष झकबहादुर बुढामगरले बालबालिकालाई पारिवारिक वातावरणमा आश्रय लिएको बताउनुभयो । सुरुमा बालगृहमा आएर बस्न धेरैले नमाने पनि अहिले धेरै अभिभावकविहीन बालबालिकाको रोजाइमा परेको उहाँको भनाइ छ । बालबागृहमा बस्ने बालबालिकाको उच्च शिक्षासहित रोजगारीको ग्यारेन्टीसमेत पालिकाले गर्ने बुढामगरले बताउनुभयो । बालगृह सञ्चालनका लागि ‘तमानखोला विकास कोष’समेत स्थापना गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300