विराटनगर, २३ जेठ । आदर्श विद्यालय पूर्व विद्यार्थी संघद्वारा आयोजित विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा आदर्श विद्यालयमा अध्ययनरत ४० जना र सरस्वती विद्यालयमा अध्ययनरत १५ जना गरी ५५ जना विद्यार्थीलाई विद्यालय पोशाक तथा विभिन्न शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। आर्थिक रूपमा कमजोर तथा आवश्यकता भएका विद्यार्थीलाई लक्षित गर्दै सामग्री वितरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष विश्वनाथ भगत ले यस्ता सामाजिक तथा शैक्षिक अभियानले विद्यार्थीको मनोबल बढाउनुका साथै शिक्षाप्रति आकर्षण बढाउन सहयोग पुग्ने बताउनुभयो।
विशिष्ट अतिथिका रूपमा आदर्श विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेल तथा आदर्श विद्यालय पूर्व विद्यार्थी मिलन केन्द्रका उपाध्यक्ष कृष्ण पोखरेल सहभागी हुनुहुन्थ्यो। त्यसैगरी विद्यालयका पूर्व शिक्षक जगदिश गौतम, मिलन केन्द्रका पूर्व अध्यक्ष नारायण प्रसाद श्रेष्ठ तथा महिला जागृति केन्द्रकी अध्यक्ष विजियता अधिकार को पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
संघकी अध्यक्ष अन्जु पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रमोद मण्डल भने स्वागत मन्तव्य अञ्जना नेपालले गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरूले शिक्षा क्षेत्रको विकास, विद्यार्थीको हौसला अभिवृद्धि तथा सामाजिक उत्तरदायित्व निर्वाहमा पूर्व विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

