०८ आषाढ २०८३, सोमबार

बाल आँखा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि एकीकृत परियोजना कार्यान्वयनमा

Logo
आजको अपडेट सोमबार, आषाढ ०८, २०८३

काठमाडौँ, ८ असार।  बाल स्वास्थ्य, आँखा अनुसन्धान तथा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि एकीकृत परियोजना सञ्चालनमा ल्याइएको छ । नेपालमा पहिलोपटक सो परियोजनालाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसहित विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ), धुलिखेल अस्पताल, इन्टरनेशनल सेन्टर फर आइ हेल्थ, लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनसँगको सहकार्य नेपाल नेत्रज्योति सङ्घले कार्यान्वयमा ल्याएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा अनुज भट्टचन, नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त, लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनकी प्रतिनिधि डा आयशा मल्लीकले हालै आयोजित कार्यक्रममा सो परियोजनाको संयुक्त रूपमा शुभारम्भ गर्नुभएको थियो । नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार सो परियोजनाको मुख्य ध्येय पाँच वर्षमुनिका बालबालिकाको आँखा स्वास्थ्य सुधार, प्राथमिक स्वास्थ्य सेवा प्रणालीमार्फत आँखासम्बन्धी समस्या समयमै पहिचान, उपचार तथा आवश्यक ‘रिफरल’ सेवामा पहुँच सुनिश्चित गर्नु रहेको छ ।

परियोजनाले हाल सञ्चालनमा रहेको एकीकृत नवजात तथा बालरोग व्यवस्थापन (आइएमएनसिआई) कार्यक्रममा आँखा स्वास्थ्यलाई समावेश गर्ने सम्भावना र आवश्यकता तथा प्रभावकारिताबारे अनुसन्धान तथा परीक्षण कार्य सञ्चालन गर्ने जनाइएको छ ।

सो अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणनिधि शर्माले बाल स्वास्थ्य सेवासँग आँखा स्वास्थ्यको एकीकरणले बालबालिकामा दृष्टिसम्बन्धी समस्या समयमै पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । परिवार कल्याण महाशाखाका निर्देशक डा मदन उपाध्यायले विद्यमान मातृ तथा बाल स्वास्थ्य सेवा प्रणालीमार्फत आँखा स्वास्थ्य सेवा विस्तार गर्न यस परियोजनाले महत्वपूर्ण आधार प्रदान गर्ने छ भन्नुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा भट्टचनले नेपालले सफलतापूर्वक कार्यान्वयन गरेको ‘आइएमएनसीआई कार्यक्रम’ले बाल मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै उक्त प्रणालीभित्र आँखा स्वास्थ्यलाई समावेश गर्नु समयानुकूल र आवश्यक कदम हो भन्नुभयो ।

उहाँले भन्नुभयो, “प्रारम्भिक अवस्थामै आँखासम्बन्धी समस्या पहिचान, उपचार तथा रिफरल सेवाको व्यवस्था गर्न सके बालबालिकामा हुन सक्ने दृष्टिसम्बन्धी समस्या तथा अन्धोपन रोकथाममा महत्वपूर्ण योगदान पुग्ने छ ।

अनुसन्धानबाट प्राप्त प्रमाण र निष्कर्षका आधारमा परियोजनालाई भविष्यमा थप विस्तार गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको छ ।” सङ्घका महासचिव भरतबहादुर चन्दले बालबालिकाको आँखा स्वास्थ्यलाई आधारभुत स्वास्थ्य सेवासँग जोडेर दिगो र प्रभावकारी सेवा प्रणाली विकास गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अनुसन्धानमा आधारित ‘इन्टरभेन्सन’ तथा साझेदारीमार्फत बालबालिकाको आँखा स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।” नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा पन्तले नेपालमा आँखाको स्वास्थ्य सेवाको पहुँच विस्तार तथा गुणस्तरीय सेवा प्रवाहमा सङ्घले लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले बाल स्वास्थ्य सेवासँग आँखा स्वास्थ्यलाई एकीकृत गर्ने यस परियोजनाले बालबालिकाको दृष्टि संरक्षण, समयमै समस्या पहिचान तथा उपचार सुनिश्चित गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । नेपाल नेत्र ज्योति सङ्घ देशको अग्रणी आँखा स्वास्थ्य सेवा प्रदायक संस्था हो ।

सङ्घले देशभर फैलिएको २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत लाखौँ नागरिकलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । परियोजनाका वरिष्ठ अनुसन्धानकर्ता डा खेम पोखरेलका अनुसार यस परियोजनामार्फत बाल स्वास्थ्य सेवासँग आँखा स्वास्थ्यलाई थप प्रभावकारी रूपमा एकीकृत गर्दै नीतिगत तथा कार्यक्रमगत सुधारका लागि आवश्यक प्रमाण र अनुभव विकास गर्ने अपेक्षा गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा परियोजनासम्बन्धी अनुसन्धानका प्रारम्भिक निष्कर्षहरू प्रस्तुत गरिनुका साथै कार्यान्वयन रणनीति, स्वास्थ्य प्रणाली सुदृढीकरण तथा कार्यक्रम विस्तारका विषयमा विस्तृत छलफल गरिएका थिए । परियोजनले नेपालमा बाल आँखा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300