०९ जेठ २०८२, बिहिबार

सुनसान देखिन्छन् सिनेमा हल

Logo
सतिश राजवंशी शनिबार, बैशाख २७, २०८२

विराटनगर । इन्टरनेटको सहज सुविधाका कारण परम्परागत रुपमा प्रचलनमा रहेका धेरै कुराहरुलाई असर गरेको छ । इन्टरनेटमा पहुँच बढेसँगै सर्वसाधारणले यसका अनेक सुविधा उपभोग गरिरहेका छन् । त्यस्तो सुविधा घरैमा, अझ मोबाइलको माध्यमले हातैमा उपलब्ध हुन थालेपछि पुराना कतिपय कुराहरु ओझेलमा परेझैँ भएका छन् ।

त्यसरी प्रभावित भएको एउटा मुख्य क्षेत्र हो– सिनेमा हल ।

चलचित्र प्रदर्शनको मुख्य माध्यम रहँदै आएका सिनेमा हलहरुलाई अचेल दर्शक आकर्षित गर्न कठिन हुन थालेको छ । पहिले दर्शकले खचाखच भरिने गरेका सिनेमा हलहरु अचेल कहिलेकाहिँ त सुनसान पनि देखिन्छन् ।

कुनै समय थियो, जतिबेला नयाँ फिल्म रिलिज हुन्थे, टिकट पाउनै गाह्रो हुन्थ्यो । कति दिनसम्म हाउसफूल चल्थे फिल्महरु । सिनेमा हलको टिकट ब्ल्याकमा समेत किनबेच हुन्थ्यो ।

अचेल इन्टेरनेटका कारण घरको टेलिभिजन अनि आफ्नो मोबाइलमै युट्युबको माध्यमले धेरै कुरा हेर्न सकिन्छ । हुन त नयाँ फिल्महरु तत्कालै युट्युबमा आउँछन् भन्ने होइन । तर यसका विकल्पका रुपमा ‘नेटफ्लिक्स’ जस्ता माध्यम पनि छन् अचेल ।

 

कतिपय फिल्मलगायत श्रब्यदृश्यका सामग्री ‘पाइरेटेड’ अनधिकृत रुपमा कपी गरिएको पनि छ्यापछ्याप्ती पाइन्छन् । यसबाहेक फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालका लोकप्रिय माध्यममा पनि दर्शकहरुको समय बित्ने गरेको छ ।

हुन त अचेल पहिलेका जस्ता परम्परागत सिनेमा हल उति छैनन् । अत्याधुनिक प्रविधि, सफा र आकर्षक हल, बस्ने ठाउँ पनि आरामदायक अनि खानेकुरा सहज र विविधतायुक्त पाइने भएकाले हलहरु आधुनिक बनेका छन् ।

विराटनगर ४ का यादव शर्मा अचेलका सिनेमा हल आधुनिक र बसेर फिल्म हेरौं हेरौं लाग्ने भएकाले कहिलेकाहीँ नयाँ र राम्रो फिल्म लाग्दा जाने गरेको सुनाउँछन् ।

‘तर पहिलेजस्तो मरिहत्ते गरेर गइँदैन’ उनले भने, ‘घरकै टिभीमा आफूले चाहेजस्तो, नयाँ, पुराना फिल्म, गीत, डकुमेन्ट्री अनि सामान्यज्ञानका कुरामा बनेका सामग्री हेर्न पाइन्छ ।’ उनले कतिपय कुराहरु कामकै व्यस्तताका बीच मोबाइलमा पनि हेर्ने गरेको बताए ।

इन्टरनेटमा सहज पहुँचका कारण अचेल सिनेमा हल नै जानुपर्छ भन्ने बाध्यता नरहेको उनको भनाइ छ ।

विराटनगरको पुष्पलाल चोककी सुष्मा निरौला कहिलेकाहीँ साथीहरुसँग सिनेमा हल जाने गरेकी छन् । राम्रो फिल्म चलेको थाहा पाउँदा सल्लाह गरेरै साथीहरुसँग समय मिलाएर जाने गरेको उनको भनाइ छ ।

‘तर पहिलेजस्तो सधैँ गइँदैन’ उनले भनिन्, ‘पहिले त नयाँ फिल्म आयो कि पहिलो शो नहेरी नसक्ने बानी थियो, बिहानैदेखि टिकटका लागि लाइन लागिन्थ्यो, तर अचेल अवस्था त्यस्तो छैन ।’

पहिलेजस्तो सिनेमा हलतिर दर्शकको आकर्षण देखिँदैन । यसका विभिन्न कारण छन् । गतिलो विषयवस्तु भएका राम्रा फिल्मले भने दर्शक तानिरहेको पनि देखिन्छ ।

विभिन्न भाषा, साहित्य, संगीत, तथा सिनेमाहरु मोबाइलमै हेर्न र सुन्न पाएपछि सिनेमा हलतर्फ दर्शकहरुको आकर्शन कम भएको हिमालयन टाँकिजका प्रबन्धक मनोज मण्डल बताउँछन् ।

 

विराटनगर ११, महेन्द्र चोकमा रहेको हिमालयन टाँकिज विराटनगरकै पुरानो सिनेमा हल हो । मण्डलका अनुसार गत चुनावका बेला हल ठप्पै भएको थियो । विश्वकप फुटबलले समेत दर्शकमा प्रभाव पारेको उनले बताए । चार बर्षमा एकपटक हुने विश्वकप फुटबलको समयले दर्शकहरु सिनेमातिर नआउने गरेको उनको भनाइ छ ।

विराटनगरकै अर्को सिनेमाहल सेन्ट्रल मल्टिप्लेक्समा पनि दर्शकको आगमन कम भएकोसञ्चालक रमेशकुमार झा बताउँछन् । राम्रो विषयवस्तु भएको सिनेमा नआएकाले गर्दा पनि दर्शकको उपस्थिति न्यून रहेको उनी बताउँछन् ।गत दसैँ र तिहारका बेला राम्रो सिनेमा आएकाले हल हाउसफूल चलेको उल्लेख गर्दै झाले अचेल भने दर्शक संख्या अत्यन्त न्यून भएको बताए ।

यस्तै सिटी सिनेमा मल्टिप्लेक्सका प्रबन्धक शंकर मेहता पनि दर्शक अभाव भएको बताउँछन् । पर्वका बेला राम्रो सिनेमा रहँदा राम्रै व्यापार भएको उनको भनाइ छ ।

पछिल्लो समय इन्टरनेटका कारण दर्शकहरुका लागि धेरै सहज भएको अनुभव गरेका छन् रङ्गमञ्चका प्रसिद्ध निर्देशक सुनील पोखरेलले ।

दर्जनौं नाटकमा अभिनय र निर्देशन गरेका एवं ‘वनफूल’ लगायत विभिन्न चलचित्रमा अभिनय गरेका पोखरेलका भनाइमा पहिलेभन्दा दर्शककको सिनेमा हलमा उपस्थिति पातलिएको छ ।

अवस्था यस्तो भए पनि राम्रो विषयवस्तु र मौलिक कथामा आधारित चलचित्रहरु निर्माण गरी प्रदर्शन गर्ने हो भने अझै पनि दर्शक हलसम्म पुगेर हेर्न तयार देखिने गरेको उनको भनाइ छ ।

विराटनगरमा मात्र होइन कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका सिनेमा हलहरुको अवस्था उस्तै छ ।

झापाको विर्तामोड, दमकलगायत स्थान, इलाम, सुनसरीलगायत जिल्लामा रहेका सिनेमा हलहरुले पनि अपेक्षाकृत रुपमा दर्शक आकर्षित गर्न सकिरहेका छैनन् ।

एक तथ्यांकअनुसार देशभर अढाइ सयभन्दा बढी विभिन्न खाले सिनेमा हल सञ्चालनमा छन् । सिङ्गल र मल्टिप्लेक्स हलको संख्या ६० र ४० प्रतिशतको अनुपातमा रहेको तथ्यांक छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300